मंदिरमा कुटपिट गरि एक युवकको हत्या
बीबीसी । भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको कुटपिट गरि हत्या भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो । ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ । सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ “गुरु ग्रन्थ साहिब ” राखिएको हुन्छ ।
गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ । त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका थिए । ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको थियो ।

साँझको प्रार्थनाका बेला भएकाले उक्त घटना टेलिभिजनमा पनि प्रसारित भइरहेको थियो । त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मृतक २०–२५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलिसकेको छैन ।
एक व्यक्तिलाई सानो आकारको पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिबलाई मन्दिरनजिकै एउटा पोखरीमा फ्याँकेको आरोपमा पक्राउ गरिएको केही दिनपछि यो घटना भएको हो।
सिख मन्दिरलाई अपवित्र बनाइने विषय सिख समुदाय बीचको एउटा निकै भावनात्मक मामिला हो ।






