चालकमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

   ३ पुष २०७८, शनिबार १२:५१  

३ पुस, रौतहट । काठमाडौंको स्वयम्भूनजिक छाउनीमा एक ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि शुक्रबार साँझ ६:१५ बजेतिर चक्कु बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

लामालाई ट्याक्सीमा सवार बारा कलैया घर हुने १९ वर्षीय विकास सरावले धारिलो हतियार चक्कुले घाँटीमा प्रहार गरेका थिए । चक्कु प्रहार गरेको आरोपमा उनलाई तत्कालै हिरासतमा लिएको थियो ।

घाइते लामालाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नभएको कारण थप उपचारको लागि राति नै ट्रमा सेन्टर पठाइएको थियो । पक्राउ परेको उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।