भारतबाट एक युवतीको उद्वार, तीन आरोपी पक्राउ
१८ मंसिर, रौतहट । एक नेपाली महिलालाई भारतबाट उद्वार गरी सशस्त्र प्रहरी बलले आफन्तलाई बुझाएको छ ।
भारतको उत्तर प्रदेश राज्य बहराइचको निशानगाढास्थित एसएसबीले चेकजाँच गर्दा मानव बेचबिखनको आशंकामा महिलालाई भारत र्पुयाउने तीनजना पुरुषलाई हिरासतमा लिई नेपाल प्रहरीलाई बुझाएको हो ।
मधुवन नगरपालिका वडा नम्बर ९ का तीनजना पुरुषको साथमा भारत पुगेकी एक १६ वर्षीय युवतीलाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरी नेपाल पठाएको हो ।
शंकास्पद अवस्थामा तीनै जनालाई पक्राउ गरी एसएसबीले मधुवन नगरपालिका धर्मवस्तीस्थित विओपीमा जानकारी दिएपछि सशस्त्र प्रहरी नायव निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले महिलासहित चारैजनालाई आफन्तको जिम्मा लगाएको छ ।
पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






