नाइट्रोभेटसहित १३ वर्षीय बालक पक्राउ
१५ मंसिर, रौतहट । १३ वर्षीय बालकलाई लागूऔषधसहित महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ ।
सवारी चेकजाँच गर्ने क्रममा भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ जादैँ गरेको टेम्पु (रिक्सा)लाई रोकी चेक गर्दा सिन्धुली कमलामाई नगरपालिका ६ का १३ वर्षीय शनि नेपालीलाई हिरासतमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।
रिक्सा चेक गर्ने क्रममा शंकास्पद अवस्थामा बालकको खानतलासी गर्दा कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ पक्राउ परेका ती बालकको साथबाट ४ पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
पक्राउ परेको बालकमाथि यसबारे अनुसन्धान भइरहेके जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।