दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुमाथि प्रतिबन्ध
बीबीसी । कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने भन्दै नेपालले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।
तर नेपाली राहदानीवाहक तथा कूटनीतिक नियोगका कर्मचारीहरूमाथि त्यस्तो प्रतिबन्ध लागु नहुने अध्यागमन अधिकारीहरूले बताए।
उनीहरूका अनुसार नेपाली राहदानी भएका र कूटनीतिक राहदानी बोक्ने अन्य देशका नागरिकले पनि नेपाल आएपछि १४ दिन अनिवार्य क्वारन्टीनमा बस्नुपर्नेछ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार उक्त भाइरसको नयाँ भेरिअन्ट दक्षिण अफ्रिकाबाट उत्पन्न भएको भन्ने कुराहरू आएकाले उक्त देशबाट आउने व्यक्तिलाई यात्रा प्रतिबन्ध लगाउन निर्देशन दिइएको हो।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार उक्त भाइरसको नयाँ भेरिअन्ट दक्षिण अफ्रिकाबाट उत्पन्न भएको भन्ने कुराहरू आएकाले उक्त देशबाट आउने व्यक्तिलाई यात्रा प्रतिबन्ध लगाउन निर्देशन दिइएको हो ।
उनले नेपाली र कूटनीतिक राहदानीवाहकले भने आउन पाउने तर उनीहरूले अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा उक्त भेरिअन्टको भाइरस देखा परेको पुष्टि भएको छैन।
तर भाइरसको त्यो नयाँ प्रकारलाई दृष्टिगत गर्दै “आवश्यक सतर्कता अपनाइएको र प्राविधिक विश्लेषण पनि थालिएको” स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।






