मोरङमा आमाको कुटपिटबाट छोराको मृत्यु

   १३ मंसिर २०७८, सोमबार १४:०६  

१३ मंसिर, रौतहट । मोरङमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ ।

यही मंसिर ११ गते (शनिबार) राति ९ बजेतिर सामान्य विवाद हुँदा जिल्लाको कटहरी ५ बस्ने आमा ५५ वर्षीया बातियो उराउले कुटपिट गर्दा उनकै छोरा ४० वर्षीय राजेन्द्र उराउ गम्भीर घाइते भएका थिए ।

मदिरा सेवन गरी उनीहरुबीच विवाद हुँदा राजेन्द्रकी आमा र ३० वर्षीया बहिनी रिता उराउले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका राजेन्द्रलाई उपचारका लागि नोवेल अस्पताल विराटनगरमा ल्याएपनि उपचारकै क्रममा आईतबार राति १०ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

यस्तै, आरोपी आमा र बहिनीलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान सुरु भएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।