विश्वकप ग्लोबल छनोटबाट नेपाल पुनः बाहिरियो

   १२ मंसिर २०७८, आईतवार १६:०३  

१२ मंसिर, रौतहट । विश्वकप टी–२० क्रिकेटको ग्लोबल छनोटमा पुग्न नेपाल फेरि एक पटक असफल भएको छ । फाइनल सरह मानिएको लीग चरणको अन्तिम खेलमा आइतवार यूएईसँग ४८ रनले पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरको ढोका बन्द भएको हो ।

टस जितेर नेपालले बिहानीको ओसिलो मैदानमा फील्डिङ गर्ने निर्णय गरेको थियो। तर टोलीका खेलाडीहरूले त्यसको फाइदा उठाउन सकेनन् । यूएईले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२७ रनको विशाल स्कोर बनायो।

यूएईमा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक मानिएको खेलमा नेपाललाई १० बल बाँकी रहँदै जित्नुपर्ने बाध्यता थियो । त्यसो गर्न सफल भएको खण्डमा मात्रै नेपाल रन रेटको आधारमा यूएईलाई पछि पार्दै लीग तालिकाको शीर्ष स्थानमा पुग्न सक्थ्यो ।

तर नेपालको रणनीति मैदानमा कहीँकतै लागु भएको देखिएन। टस जित्नुबाहेक यूएईको मैदानमा नेपालको पक्षमा अरू केही हुन सकेन ।

हारसँगै नेपाल ६ टोली सम्मिलित आईसीसी टी–२० विमिन्स एशिया कप क्षेत्रीय छनोटको तेस्रो स्थानमा सीमित हुन पुगेको छ । टी–२० विश्वकपको एशियाली क्षेत्रीय छनोटमा नेपालले पाँच खेलमध्ये दुईमा हार अनि तीन खेलमा जित हात पार्न सक्यो।

ग्लोबल क्वालिफायरमा छानिएको यूएईले सबै पाँच खेल जित्न सफल भयो। हारको अर्थ नेपाली महिला क्रिकेट टोलीको विकासको गतिमै व्यापक असर पर्ने देखिन्छ ।

आइतवारको खेल जितेको अवस्थामा ग्लोबल क्वालिफायरको यात्रामा व्यस्त हुन पाउने टोली अब अर्को खेलको अवसरको लागि वर्षौँ कुर्नुपर्ने अवस्थामा पुगेको छ ।

एशिया छनोटमा शीर्ष स्थान प्राप्त गर्ने टोलीले मात्र ग्लोबल क्वालिफायर खेल्न पाउने नियम छ। सन् २०१८ मा दुई टोलीलाई ग्लोबल क्वालिफायर खेल्ने प्रावधान राखिएको थियो ।

तर त्यतिबेला थाईल्यान्ड पहिलो र यूएई दोस्रो हुँदा नेपालको स्वर्ण मौका गुमेको थियो। त्यतिबेला पनि यूएईसँगको हार नै नेपाल बाहिरिनुको कारण बनेको थियो ।

बीबीसी