घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु
१२ मंसिर, रौतहट । पूर्वी चितवनको विकट क्षेत्र राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा २ बालबालिकाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
राप्ती नगरपालिका १ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
आगलागी भएको बेला दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको अधिकारीले जनाए । सोलारको व्याट्रि सर्ट भएर काठ र टिनले बनेको घरमा आगलागी भएको थियो ।
घरमा आगलागी हुँदा अभिभावकहरु घरबाहिर गएपनि दुवै बालकालिका भित्रै छुटेको कारण जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडासमेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।