पर्सामा लागुऔषधसहित चारजना पक्राउ

   ९ मंसिर २०७८, बिहीबार १६:४२  

९ मंसिर, रौतहट । २ वटा ट्रकबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ७ का ४५ वर्षीय राजु बस्नेत, हेटौंडा उपमहानगरपालिका ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ, मेची नगरपालिका ५० वर्षीय गोपाल थापा र ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला रहेको प्रहरीले जनाएको छ ।

ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकलाई सवारी चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा चेक गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल लागुऔषध फेला परेपछि ट्रकसहित चारैजनालाई हिरासतमा लिएको हो । पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।