धनुषामा गुडिरहेको गाडीबाट खसेर छात्राको मृत्यु

   ८ मंसिर २०७८, बुधबार १२:४६  

८ मंसिर, रौतहट । धनुषामा आज बिहान गुडिरहेको गाडीबाट खसेर एक छात्राको मृत्यु भएको छ ।

धनुषाको धारापानी बहूमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनतर धनुषाधाम नगरपालिका ७ भगवानपुरकी १८ वर्षीय पूजा कुमारी महतोको गाडीबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत धारापानीमा बुधबार बिहान ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदैँ गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर पूजाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

कुनै कामको लागि कलेजबाट उनी ढल्केबरतर्फ आउन लागेको बेला दुर्घटना हुँदा उनको टाउकोमा गम्भीर चोट लागेकोले पूजाको घटनास्थलमै मृत्यु भएको सुवेदीले जनाए । पोष्टमार्टमको लागि मृतकको शव प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

यस्तै, विंगर चालकलाई हिरासतमा लिई घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।