कक्षा ११ को परीक्षा लिन लागेको भन्दै रुपन्देहीमा विरोध प्रदर्शन, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’

   १८ श्रावण २०७७, आईतवार १६:४१  

साउन १८, रौतहट । अहिले कोरोना भाईरस (कोभिड १९)का महामारीको त्रासकै बेला कक्षा ११ का परीक्षा लिन लागेको भन्दा विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का विरुद्ध प्रदर्शन गरेका छन ।

कोरोना महामारीका कारण कक्षा ११ को परीक्षा नलिने भने पनि सरकारले निर्णय गरेका थिए, तर परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको भन्दै विरोध प्रदर्शन भएको हो ।

रुपन्देही विद्यार्थी संघको ब्यानरमा बुटवलमा विभिन्न कलेजका विद्यार्थीले पुष्पलालपार्कदेखि चौराहासम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरु रुष्ट भएका छन ।

विद्यार्थीहरुले पीसीआर टेस्ट विना परीक्षा नलिन र मानसिक तनाव नदिन सरकारसंग माग गरेका छन । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘नो इक्जाम विथआउट पीसीआर’, ‘नो इक्जाम नो कोरोना’, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’, ‘इनफ इज इनफ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको र विभिन्न चाडपर्वको समयका बेला परीक्षा लिनु उपयुक्त नभएकाले विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुको भनाई छ । धेरै विद्यार्थीहरु बसमार्फत कलेज पुग्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम हुने विद्यार्थीको तर्क छ ।