यात्रुबाहक बस दुर्घटना हुँदा २९ यात्रु घाइते

   ५ मंसिर २०७८, आईतवार १२:११  

५ मंसिर, रौतहट । यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जादैँ गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

३९ जना सवार भएको बस शनिबार गएराति १:४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २९ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका तीनै जनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

यस्तै, अन्य घाइतेहरुको लमहीमै उपचार भइरहेको छ । घाइतेहरुलाई हिजो राति नै उपचारका लागि अस्पतालमा पठाइएको थियो ।

बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।