प्रतिबन्धित लागूऔषध सहित पर्साबाट एक युवक पक्राउ

   ५ मंसिर २०७८, आईतवार ११:३९  

५ मंसिर, रौतहट । नेपालमा प्रतिबन्धित लागूऔषधसहित पर्साबाट एक जना पक्राउ परेका छन् ।

भारतको भिश्वा सिमानाका हुँदै नेपालतर्फ आउँदै गरेको अवस्थामा धोविनी गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय दिवाकरकुमार साहलाई हिरासतमा लिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

नाकामा सवारी चेकजाँच गर्ने क्रममा ना४५प ११६४ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंकास्पद अवस्थामा चेक गर्दा १ हजार ३५० थान लागूऔषधसहित शनिबार साँझ ६ः३० बजेतिर प्रहरीले पक्राउ गरेको थियो ।

खनालका अनुसार साहको साथबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०र४५० थान गरी एक हजार ३५० थान लागूऔषध बरामद भएको छ ।

पक्राउ परेको साहलाई जिल्ला प्रहरी कार्यालयमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोही मोटरसाइकलको पछाडि सवार भएका एक जना भाग्न सफल भएको छ । फरार भएको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।