ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
२ मंसिर, रौतहट । आज बिहान उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा प्रदेश नम्बर २-०१-००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएको त्रियुगा नगरपालिका वडा नम्बर ९ गैरुनका ४० वर्षीय बौका सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार गाईघाटबाट रूपाटारतर्फ भवन ढलान गर्न मजदुर लिएर जाँदै गरेको अवस्थामा ट्याक्टर दुर्घटना हुँदा बौकाको मृत्यु भएको र त्यसमा सवार अन्य १९ जना घाइते भएका छन् ।
घाइते भएका १९ जनामध्ये चालकसहित ३ जनालाई थप उपचारका लागि विराटनगर पठाउने तयारी भइरहेको छ, भने बाँकीको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।