नक्कली नोटसहित ५ जना पक्राउ

   २ मंसिर २०७८, बिहीबार १३:४६  

२ मंसिर, रौतहट । नक्कली नोट छाप्ने मेसिनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

६५ हजार ३३५ नक्कली नोटसहित महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका ११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा रामेछाप सिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित बरामद भएको थियो ।

पक्राउ परेको गोमा श्रेष्ठसँग सोधपुक्ष गर्दा थप चारजनालाई हिरासतमा लिएको हो । उनीहरुको साथबाट सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरिएको बस्नेतले जनाए ।