चोरिएको गहना र रुपैयाँसहित कञ्चनपुरबाट दुई जना पक्राउ

   १ मंसिर २०७८, बुधबार १२:०६  

१ मंसिर, रौतहट । चोरिएको गहना तथा रुपैयाँसहित कञ्चनपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैया बस्ने ३८ वर्षीय लालबहादुर शाही र कैलाली चियापानीका ३५ वर्षीय विष्णु शाहीलाई मंगलबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट सुनचाँदीको गहना र रुपैयाँ चोरिएर ल्याएको भन्दैँ गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरमा छापा मारेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

चतुर्वेदीका अनुसार घरमा छामा मार्ने क्रममै उनीहरुलाई हिरासतमा लिएको थियो । उनीहरुको साथबाट ल्यापटप चार थान, भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, अमेरिकी डलर एक हजार पाँच, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, सिंगापुर डलर १८, क्यानडियन डलर दुई हजार आठ सय दस, मलेसियन रिंगिटी २३, दुबई दिराम १३०, चाइनिज युवान १६१, कतार रियाल १ समेत बरामद गरिएको छ ।

उक्त समानसहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।