चीनबाट कार्गाे भित्रिने संख्या बढ्यो

   २७ कार्तिक २०७८, शनिबार १२:१६  

२७ कात्तिक, रौतहट । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक तातोपानीमा आपूर्ति बढेको अधिकारीहरूले बताउछन् । दुई महिनायता नेपाल भित्रिने कार्गाे सङ्ख्या बढेको तातोपानी भन्सार प्रमुख नारद गौतमले जनाएका छन् ।

पहिले दैनिक सातदेखि आठवटा कार्गाे नेपाल भित्रिने गरेकोमा यो सातादेखि उक्त सङ्ख्या बढेर १३ देखि १८ वटासम्म पुगेको उनको भनाइ छ ।

“अहिले पहिलेजस्तो समय लागेको छैन। सम्भव भएसम्म नेपाल भित्रिने कार्गो सङ्ख्या बढाउने योजना छ। त्यसका लागि चिनियाँ पक्षसँग नियमित सम्पर्कमा छौँ,” गौतमले भने।

उनका अनुसार चीनबाट हाल स्याउ, ओखर, तयारी लुगा, जुत्ता, रासायनिक मल आदि आपूर्ति भइरहेको छ । व्यवसायीहरूले आफ्नो सामान नाकापारि रोकिएको गुनासो गरे पनि कति सामान रोकिएका छन् भन्ने बारे भने स्पष्ट विवरण नभएको गौतमको भनाइ छ ।

“आँखाले देखेसम्म त्यति धेरै कन्टेनर आएर बसेको देखिँदैन। नेपाल र चीनबीचको मैत्री पुलमार्फत् मानिसको आवतजावत ठप्प भएका कारण उता गएर निरीक्षण गर्ने अवस्था पनि छैन,” उनले भने ।

“कार्गोहरू लामो समय पर्खाइमा रहँदा उत्पन्न समस्या र अन्य चिन्ताका विषयबारे कुरा गरेका छौँ। चिनियाँ पक्ष समस्या समाधानको बाटो खोज्न सकारात्मक सुनिन्छ।”

बीबीसी