नेपालमा थपिए ३९७ संक्रमित, ३८९ कोरोनामुक्त
२६ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा एन्टिजेन संक्रमण देखिएको छ । आज थपिएको संक्रमितसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४ सय ५२ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ सय ८९ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ९७ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसंगै आजसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४ सय ७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् ।






