सर्वोच्चमा वकिल र प्रहरीबीच झडप, ६ जना घाइते

   २५ कार्तिक २०७८, बिहीबार १३:०१  

२५ कात्तिक, रौतहट । कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरुमाथि लाठ्ठी चार्ज गरेको छ ।

बिहीबार बिहान सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते समेत भएका हुन् । घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, उपाध्यक्ष रक्षा बस्याल, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, केन्द्रीय सदस्य प्रकाश महर्जन र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई रहेको नेपाल बार एशोसिएनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।

कानूनी व्यवसायीहरुले मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरिदैँ उनीहरुमाथि लाठ्ठी चार्ज गरेको छ ।

कानूनी व्यवसायीहरुले गरेको भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गर्न आदेश दिएका छन् ।