सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

   २५ कार्तिक २०७८, बिहीबार ११:५४  

२५ कात्तिक, रौतहट । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा तिवारीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको तिवारीलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३० वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।