भर्खर कालोपत्रे गरेको सडकमा लडेर दुई जना घाइते

   २२ कार्तिक २०७८, सोमबार १५:४१  

२२ कात्तिक, रौतहट । भर्खर कालोपत्रे गरेको सडकबाट हिँड्दै गर्दा वीरगञ्जमा दुई जना घाइते भएका छन् ।

तातो अलकत्राले पोलेर पर्साको वीरगञ्ज महानगरपालिका ३ छपकैया बस्ने ३८ वर्षीय महम्मद रेयाज मिया र ३९ वर्षीय सैमुल्लाह मिया मन्सुरी घाइते भएका हुन् । कालोपत्रे गरेको सडकमा मदिरा सेवन गरेर मोटरसाइकलमा सवार उनी दुवै जना हिडेका थिए ।

सडकमा मोटरसाइकलबाट लडेर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका दुवै जनामध्ये रेयाज आइतबार राति नै डिस्चार्ज भएका थिए ।

तातो अलकत्राले पोलेर दुवै पैताला र हात पोलेको सैमुल्लाहको हाल सोही अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकलबाट लडेर तातो अलकत्राले पोलेर घाइते भएका दुवै जनाले ठेकेदार पक्षले तातो अलकत्रा छ्यापेको आरोप समेत लगाएको खनालले बताए ।