ट्राफिक प्रहरी एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा
१८ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले महाशाखा ‘बग्गीखाना‘ पूर्णरुपमा सिल गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।
‘अहिले सिल गरेर हामी को को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै छौं,’ महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने। महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ।