भन्सार छलेर ल्याएको औषधीसहित सिरहाबाट दुई जना पक्राउ
१६ कात्तिक, रौतहट । भन्सार छलेर ल्याउँदै गरेको विभिन्न किसिमको औषधी प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय राकेश कुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ बस्ने २२ बर्षीय शत्रुद्यन राम रहेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार प्रदेश २-०१–००१ ह. ०६७३ नम्बरको टेम्पुमा ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध औषधी प्रहरीले बरामद गरेको छ ।
लहान नगरपालिका वडा नम्बर १९ स्थित कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २२५ एमएलको १ हजार ६२ बोतल औषधिसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको प्रहरीले जनाएको छ ।