नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
१४ कात्तिक, रौतहट । नुहाउने क्रममा कैलालीको नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो नुहाउने क्रममा कैलालीको काडाँ नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भजनी नगरपालिका ३ ढुसी बस्ने नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही स्थानका लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
शनिबार दिउँसो घरबाट निस्केका उनीहरु रातिसम्म नफर्केपछि, खोजी गर्दा आज काडाँ नदीमा दुवै बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा दुवै बालकको शव नदीबाट निकालेको र यसबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






