आफताव आलमको मुद्दामा आज सुनुवाई हुने

   ५ कार्तिक २०७८, शुक्रबार ११:४६  

५ कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामाथि आज सुनुवाई हुने भएको छ ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेको आलमको मुद्दामा शुक्रबार पेसी तोकिएको छ । थुनामुक्त हुनका लागि आलमले सर्वाेच्च अदालतमा दिएको निवेदनमाथि आज न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने भएको छ ।

आफतावले दिएको निवेदनमाथि पटक पटक पेसी तोकिए पनि विभिन्न कारणले सुनुवाई स्थगित हुदैँ आएको छ ।

२०७६ असोज २६ गते पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत र उच्च अदालतले दिएको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलम रौतहटबाट निर्वाचित सांसद हुन् ।