बेमौसमी बाढीपहिरोका कारण ८८ जनाको मृत्यु, ३० बेपत्ता

   ४ कार्तिक २०७८, बिहीबार १०:५२  

४ कात्तिक, रौतहट । गत आइतबार रातिदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण नेपालमा हालसम्म ८८ जनाले ज्यान गुमाइसकेका छन् । अगातार भइरहेको वर्षाका कारण बाढीपहिरोमा परी ८८ जनाको मृत्यु भएको छ, भने ३० जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

बेमौसमी भइरहेको वर्षाका कारण अधिकांश व्यक्तिहरुको पहिरामा परी मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार आज(बिहीबार) मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ ।

यसअघि बुधबार ६३ जना र मंगलबार १४ जनाले बाढीपहिरोमा परी ज्यान गुमाएको थियो । सबैभन्दा बढी पाँचथरमा २७ जनाको पहिरोमा परी मृत्यु भएको छ । यस्तै, इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, गृहमन्त्रालयका अनुसार बैतडी, डडेलधुरा, कालीकोट, हुम्ला, सोलुखुम्बु, बझाङ, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा बाढीपहिरोबाट मानवीय क्षति भएको छ ।

हाल बझाङमा २१ जना बेपत्ता भएका छन् भने पाँचथरमा चार जना लपात्ता भएका हुन् ।