धनुषामा एक वृद्धको शव फेला

   २५ आश्विन २०७८, सोमबार १०:५७  

२५ असोज, रौतहट । धनुषामा बिहीबारदेखि बेपत्ता भएका वृद्ध आज मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको कमल नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय नागेश्वर साह सोमबार गाउँकै नहर नजिकको कल्भर्टमा मृत भेटिएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए ।

यही असोज २१ गते (बिहीबार) साँझ श्रीमतीसँगै लगमा बजार गएका साह बेपत्ता भएका थिए । हराएका साहलाई खोज्ने क्रममा आज उनकाशव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साह मदिरा सेवनकर्ता थिए । मादक पदार्थ खाएको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीले आशंका गरेको छ । यस घटनाबारे अनुसन्धान भइरहेको मैनालीले बताएका हुन् ।