बाँकेबाट रेडपाण्डाको छालासहित एक पक्राउ

   २४ आश्विन २०७८, आईतवार ११:०९  

२४ असोज, रौतहट । बाँकेबाट रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ४ बुद्ध मन्दिर नजिकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित जाजरकोट भेरी नगरपालिका १ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार नै हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको टोलीले हिजो नै निजलाई नियन्त्रणमा लिएको जिल्लाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रहरी कार्यालयबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्न क्रममा एउटा रेडपाण्डाको छाला बरामद गरेको थियो ।

उक्त छालासहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।