घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ
२० असोज, रौतहट । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियरलाई घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीबाट २ लाख घुस लिएको अभियोगमा सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
रिसालका अनुसार सवइन्जिनियर केसीलाई कार्यालय परिससरबाटै नियन्त्रणमा लिएको हो । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग दुई लाख घुस मागेको आरोपमा केसीलाई हिरासतमा लिएको हो ।
पक्राउ परेको केसीमाथि यसबारे अनुसन्धान सुरु भएको छ ।