रौतहटको श्रीराम सुगर मिल सुचारु गर्न कृषकको माँग

   १६ श्रावण २०७७, शुक्रबार १२:५८  

रौतहट, १६ साउन ।

रौतहटको गरुडा ५ मा रहेको जिल्लाकै सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसानहरु चिन्तीत बनेका छन ।
साउन ११ गते गोल्छा समुहले एक सूचना जारी गर्दै मह्मदपुर गरुडामा रहेको सो चिनि मिल बाध्यात्मक परिस्थीतीका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । वि.सं. २०४९ सालमा स्थापना भएको सो मिल कम्पनी सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरे पछि मिलमा कार्यरत ३२५ कर्मचारी बेरोजगार भएका छन भने उँखु खेती गरेका किसानहरु मारमा परेका छन ।

उद्योग बन्द हुँदा जिल्लामा रहेका १८ हजार उँखु किसानले १२ हजार बिघामा गरेको उँखु खेती अब के हुने हो भन्ने अन्योलम बढेको छ । प्रत्येक वर्ष उँखु खेतीबाट रौतहटका किसानले सबा दुई अर्ब रुपैंया बराबरको कारोबार गर्ने गरेका थिए । उद्योग व्यवस्थापनले किसान, श्रमिक तथा सरोकारवाला सँग छलफल नै नगरि मिल बन्द गरेको भन्दै उँखु उत्पादक सँघ रौतहटले आपती जनाएको छ । व्यवस्थापानले एकतर्फी ढंगले उद्योग बन्द गरेको घोषणा प्रति सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको सँघले जनाएको छ ।

रौतहटको मध्य भागमा रहेको सो चिनी मिलमा बारा, सर्लाहीका किसानले समेत उँखु बेच्ने गरेका थिए । मिल स्थापना हुने भए पछि गरुडाका स्थानीयले सस्तो मूल्यमा आफ्नो जग्गा मिललाई दिएका थिए । “८ बिघामा उँखु खेती गरेको छु । मिल बन्द भएको सूचनाले चिन्ता थपिएको छ ।” वृन्दावन नगरपालिका ४ का उँखु किसान होसनारायण राय यादवले भने “२०७१ साल देखीको उँखुको पाँच लाख रुपैंया बाँकी छ । अब त्यो पैसा कहिले कसले दिने हो थाहा छैन ।” गरुडा २ का फेकन सहनीको पीडा पनी फरक छैन । ४ बिघामा उँखु खेती गरेका सहनीले पनि चिनी मिलबाट २ लाख भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ । चिनी मिल बन्द हुन नदिन सरकारले पहल गर्नु पर्ने उनीहरुको भनाइ छ ।

व्यवस्थापनको नीयत माथि शंका

स्थापनाकालको ६ वर्ष सम्म मुनाफामा चलेको उद्योग त्यस पछि निरन्तर ओरालो लागी रहयो । मिलको व्यवस्थापन कमजोर हुदा र हरेक वर्ष व्यवस्थापन परिवर्तनका कारण प्रत्येक वर्ष यसको घाटा बढन थालेको थियो । आर्थिक वर्ष ७५।७६ सम्ममा मिलको कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैया छ ।


श्रीराम सुगर मिल्स करीब ७४ बिघा क्षेत्रफलमा अवस्थीत रहेको छ । उद्योग स्थापनाको बेला निकै सस्तोमा खरिद भएको जग्गाको मूल्य हजारौ गुणाले बढेर अहिले आकाशियको छ । तिस हजारमा खरिद भएको जग्गा आज ५० लाख भन्दा बढी मूल्यको भए पछि व्यवस्थापनले मिलको जग्गा बेचेर अर्बौ रुपैंया निकाल्ने र रकमलाई अन्यत्र व्यापारमा प्रयोग गर्ने बदनियत रहेको गरुडाका उद्योगी बृजकिशोर यादवले बताए ।

“आज भन्दा चार वर्ष अघि १३० करोड रुपैंया किसानको मात्रै बाँकी थियो । तर त्यो बेला मिल बन्द भएन ।” गरुडाका यादव भन्छन “आज ३२ करोड मात्रैं बाँकी छ । मिलले राखेको नयाँ पार्टनरले मिलको जग्गामा आँखा गाडेको छ ।” उद्योग सँग भएको ७४ बिघा मध्ये १० बिघा जग्गाको मुख्य बजार र सडकसँग जोडिएको छ जसको मूल्य १ बिघाको मात्रै २० करोड भन्दा बढी रहेको छ । अर्थात मिलले आफूले बेच्न पाउनु पर्ने भनेको १० बिघा जग्गा बेच्दा २ सय करोड भन्दा बढी रुपैंया प्राप्त गर्छ । “मिल व्यवस्थापन आफैले १२५ करोड नभए सम्म उद्योग चल्द सक्दैन भनेर सरकारलाई भनेको छ ।” बृजकिशोर यादवले भने “मुख्य सडको जग्गा बेचेर आएको रकम प्राप्त भए पछि १२५ करोड बाँकी बक्यौता तिर्ने भनेको मिलले बाँकी पैसा राखेर उद्योग चलाउछ भन्ने ग्यारेन्टी सरकारले गर्नु पर्छ ।

उद्योग संचालनको लागी रौतहटका किसानहरुले पूर्ण सहयोग गरि रहदा पनि खराब नियतका कारण उद्योग बन्द भएकोले सरकारले तत्काल उद्योग संचालन गर्ने वातावरण बनाउनु पर्ने माँग उँखु उत्पादक संघ रौतहटको रहेको छ । उद्योग कलकारखाना न्यून सँख्यामा रहेको रौतहटको सबै भन्दा ठूलो उद्योगलाई बन्द हुन नदिन सरकारले पहल गर्नु पर्ने संघका अध्यक्ष अशोक प्रसाद यादवले बताए ।

गोल्छा समूह र अग्रवाल समूहको लगानी रहेको मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखीको तलब तथा संचयकोषको रकम समेत दिन सकेको छैन । नगदे बालीको रुपमा रहेको उँखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैंया भुक्तानी दिन बाँकी रहेको उँखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाख भन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ ।

उद्योगमा सबैभन्दा धेरै लगानी चर्नाली डेभलपेमन्ट कम्पनीको ६ लाख कित्ता शेयर छ । त्यस्तै हुलास स्टिल इन्डष्ट्रिज, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, हेमन्त गोल्छा, विशाल अग्रवाल, अनुज अग्रवाल, अशोक कुमार अग्रवालको शेयर रहेको छ । विनियोग प्रालि, वीरगञ्ज चिनी उद्योग, हितेश गोल्छा, दिनेश गोल्छा लगायतकाहरुको शेयर रहेको छ ।