महोत्तरीमा एक महिलाको मृत्यु
१७ असोज, रौतहट । महोत्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको भंगहा नगरपालिका २ बखरी टोल बस्ने ३५ बर्षीया महिलालाई नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवकले गत बुधबार बिहान नै घरमा सुतिरहेकै अवस्थामा उठाएर उनलाई लगेका थिए ।
अज्ञात युवकहरुले झण्डै २ घण्टापछि ती महिलालाई बेहोस अवस्थामा ल्याएर घरमै छाडिदिएको प्रहरीले जनाएको छ । बेहोस भएकी महिलालाई गाउँमै उनका परिवारजनले बिहीबार उपचार गराएपनि होसमा नआएपछि, थप उपचारको लागि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
त्यहाँ लगेपछि सो अस्पतालमा उपचारकै क्रममा बिहीबार गएराति ती बेहोस भएकी महिलाको मृत्यु भएको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार सामूहिक बलात्कारको कारण मृत्यु भएको मृतक महिलाका परिवारजनले दाबी गरेका छन् ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ । रिपोर्ट नआएसम्म घटनाबारे केही भन्न नसक्ने प्रहरीले बताए ।
हाल दुवै अज्ञात युवकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।