दुर्घटनामा घाइते भएका ५ छात्रामध्ये २ जनाको मृत्यु

   १५ आश्विन २०७८, शुक्रबार १५:४०  

१५ असोज, रौतहट । सल्यानमा आज बिहान जीपको ठक्करबाट घाइते भएका ५ छात्रामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान १० बजेतिर विद्यालय जाने क्रममा शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडकको छेउमा छहारीमुनि बसेका उनीहरुलाई तिब्र गतिमा थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका ५ जनामध्ये २ छात्राको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको छ । जीपको ठक्करबाट सबैलाई छाति, अनुहार, हात-खुट्टालगायत शरीरका विभिन्न अंङ गम्भीर चोर लागेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माका अनुसार घाइते भएका ५ जनामध्ये हाल तीन जना उपचाररत छन् ।

यस्तै, दुर्घटनापछि स्थानीयले दिउँसो २ बजेदेखि राप्ती राजमार्ग बन्द गराएको प्रहरीले जनाए ।