लरीको ठक्करबाट एक जनाको मृत्यु, भारतीय चालक पक्राउ
१२ असोज, रौतहट । लरीको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
सोमबार राति करिब ८ः४५ बजेतिर सूर्यविनायक नगरपालिका ५ सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा काठमाडौं तर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोटरसाइकललाई सोही विपरीत दिशाबाट आइरहेको आरजे ०२ जीबी१९१७ नम्बरको भारतीय १८ चक्के लरीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका ३ बालकोटका ४५ वर्षीय गणेश रजौराको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जानकारी दिए ।
सोही मोटरसाइकलको पछाडि सवार मध्यपुर मिथि नगरपालिका ३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते भएका थिए । उपचार उश्चात् उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
ठक्कर दिने लरी र भारतको राजस्थान प्रदेश अलबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई पक्राउ गरि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।