आज थप ८३४ जनामा कोरोना पुष्टि, १ हजार २७९ संक्रमणमुक्त

   १० आश्विन २०७८, आईतवार १६:३६  

१० असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ३० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ५ हजार १ सय ४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
आज थपिएको संक्रमितहरुसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।