स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय पक्राउ

   ९ आश्विन २०७८, शनिबार १२:२३  

९ असोज, रौतहट । काठमाडौँको नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख नेपाली रुपैयाँ सहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतको मुम्बई घर भएका २६ वर्षीय सागर मालि र कृष्ण अढाडेलाई चितवनबाट काठमाडौँ आउँदै गरेको अवस्थामा उक्त रकमसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सवारी चेक जाँ गर्ने क्रममा ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा सवार उनीहरुलाई रोकि तलासी गर्दा मालिको साथबाट ४५ लाख र कृष्णको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

स्रोत नखुलेको कारण उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको सिंहले जनाए । पक्राउ परेको उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।