सेतो पुतलीदेखि सावधान !
शापू एक दृष्टिनाशक रोग हो । प्रायः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार शापू आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने खालको सङ्क्रमण हो । सेतो पुतलीका रौँहरूमा र तिनले निकाल्ने नाइट्रिक अक्साइड र पोटासियम साइनाइडबीच रियाक्सनका कारण आँखालाई हानि पुर्याउँछ ।
आँखाको दृष्टिसम्म गुम्न सक्ने भएकोले यो अलि जटिल प्रकृतिकै समस्या भएको उनी बताउँछन् । यो रोगका लक्षणहरू देखिएको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।
शापू रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ)लाई शापूको कारक मानिएको छ । कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिएको छ । अरू जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।
यी हुन् लक्षण
१. एक्कासि एउटा आँखा रातो हुनु ।
२. चिप्रा नलाग्नु ।
३. उज्यालोमा हेर्न नसक्नु ।
४. आँखाको दृष्टिमा तत्कालै कमी हुनु ।
५. आँखा दुख्नु ।
६. उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु ।
शापूको रोकथाम कसरी गर्ने ?
१. सेतो पुतलीको संसर्गबाट टाढै रहने ।
२. धेरै उज्यालो सेतो बत्ती नबाल्ने ।
३. साँझ र राति भयालढोका बन्द गर्ने ।
४. सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने ।
५. सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने ।
शापू रोग लागेको कसरी थाहा पाउन सकिन्छ र कति बेला अस्पताल जानुपर्ने हुन्छ?
धेरैजसो आँखा रातो हुँदा हामी आँखा पाकेको भन्छौँ। त्यसो हुँदा चिप्रा लाग्छ । तर यदि आँखा रातो भइरहेको छ, दुखिरहेको छ, बिझाइरहेको छ अनि चिप्रा लागेको छैन भने शापू लागेको शङ्का गर्नुपर्यो।
साथै शापू लागेमा आँखाले हेर्न गाह्रो हुन्छ। सानो बच्चाले भन्न नसके हुँदा रुने गरेमा र दुखेजस्तो व्यवहार देखाउने गरेमा शङ्का गर्नुपर्यो । अलिकति ढिलो भयो भने आँखाको नानीमा सेता दागहरू देखिन सक्छन् ।
लक्षण देखिनासाथ आँखा अस्पताल गइहाल्नुपर्छ। चिकित्सकको परामर्शअनुसार उपचार गराइहाल्नुपर्छ । समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर, ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्ने वा आँखा सुकेर जान सक्ने मन्त्रालयले जनाएको छ ।
यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान तथा आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न मन्त्रालयले सचेत गराएको छ ।
एजेन्सीको सहयोगमा