बर्दियामा विद्युतीय पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

   २ आश्विन २०७८, शनिबार १२:१९  

२ असोज, रौतहट । बर्दियामा पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जंगली जनावर बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदाना भन्ने स्थानका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेको कार्कीले जनाए ।

खेतमा विद्युतीय पासो लगाउने छिमेकी ८३ वर्षीय राजबहादुर शाहीलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।