भारतीय नोटसहित वीरगञ्जबाट एक जना पक्राउ
३० भदौँ, रौतहट । भारतीय नोटसहित वीरगञ्जबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय अजयकुमार शर्मालाई प्रतिबन्धित नोटसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ आउदैँ गरेको ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा सवार शर्मालाई रोकी चेक गर्दा भारतीय नोट फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
निजको साथबाट १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको खनालले बताए । यसबारे आवश्यक अनुसन्धानको लागि उनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।