पर्सामा प्रहरी र तस्करबीच झडप
२८ भदौँ, रौतहट । पर्सामा आज बिहान प्रहरी र तस्करबीच झडप भएको छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थितको फरहदवा नजिक पर्ने जंगलमा सोमबार बिहान करिब ४ बजेतिर झडप हुँदा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर लैजदैँ गरेको अवस्थामा उक्त काठ प्रहरीले नियन्त्रणमा लिन खोज्दाँ झडप भएको थियो । ४ वटा मोटरसाइकलमा सवार ८ जना तस्कर ५ जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि, आत्मरक्षाका लागि तीन राउण्ड हवाई फायर गरिएको खनालले जानकारी दिए ।
प्रहरीले हवाई फायर गरेपछि, तस्करसमूहले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ छाडेर भाग्न सफल भएको प्रहरीले जनाए ।
फरार भएको तस्करहरुको खोजी जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।