रिपोर्टिङ गर्न गएका पत्रकारमाथि कुटपिट

   २५ भाद्र २०७८, शुक्रबार १४:४७  

अफगानिस्तान । अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला तालिबानले पक्राउ गरि कोर्राले प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

दुई पत्रकारलाई विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला तालिबानले पक्राउ गरेको र कोर्रा हानेको समाचारमा उल्लेख छ ।

एटिलाट्रोज पत्रिकाका दुई पत्रकारका केही तस्बिर सार्वजनिक भएका छन जसमा उनीहरुको शरीरमा निर्घात कुटपिटपछि लाग्ने चोटको निशान देखिएका छन ।

यीमध्ये एक पत्रकार ताकी दरयाबीले बीबीसीसँगको कुराकानीमा आफूलाई जिल्ला थानामा लगिएको र त्यहाँ नै आफूमाथि कुटपिट भएको बताए ।

बुधबार बीबीसीको टिमलाई पनि भिडियो बनाउन रोक लगाइएको जानकारीमा उल्लेख छ ।

ताकी दरयाबीसँग फोटोग्राफर नेमतुल्लाह नकदी पनि थिए । यी दुई पत्रकार बुत्रबार राजधानी काबुलमा भएको महिलाको विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका थिए ।

त्यसपछि उनीहरुलाई प्रहरी थाहा लगिएको जहाँ उनीहरुलाई डण्डा, बिजुलीको तार र कोर्राले कुटपिट गरियो । केही घण्टापछि तालिबानले केही नभनिकनै उनीहरुलाई रिहा गरिदिए ।

ताकी दरयाबीले बीबीसीसँगको कुराकानीमा भने, ‘उनीहरुले मलाई अर्को कोठामा लिएर गए र मेरो हात पछाडिबाट बाँधे । मैले आफूलाई बचाउने कोसिस गरिनँ किनभने मैले यसो गर्दा उनीहरुले ममाथि थप कुटपिट गर्दथे । त्यसैले म घोप्टो परेर सुतेँ ताकि शरीरको अगाडिको भागलाई बचाउन सकूँ ।’

‘आठ जना आए र हातमा जे जे छ, त्यसले कुट्न सुरु गरे । मेरो अनुहारमा देखिएको घाउ जुत्ताको हो । उनीहरुले मेरो अनुहारमा लात्ताले हानेका थिए । त्यसपछि म बेहोस भए, उनीहरु रोकिए । उनीहरुले मलाई अर्को भवनमा लगेर छोडिदिए ।’

ताकी दरयाबीले पिटेपछि उनी बेहोस भएको र त्यसको करिब दुई घण्टापछि उनलाई रिहा गरिएको बताए ।

उनले भने, ‘म निकै मुश्किलले हिँड्न सकिरहेको थिएँ तर उनीहरुले हामीलाई छिटोछिटो हिँड्न भनिरहेका थिए । मलाई असाध्यै गाह्रो भइरहेको थियो ।’

नेमतुल्लाह नकदीका अनुसार उनीहरुले विरोध प्रदर्शनकारीको तस्बिर खिच्न सुरु गर्ने बित्तिकै तालिबान लडाकूले उनीहरुको क्यामरा खोसे ।

एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सिपिजेका अनुसार पछिल्लो दुई दिनमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको छ ।

तस्विर : गुगल