आज थप १ हजार २७१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

   २४ भाद्र २०७८, बिहीबार १७:०६  

२४ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ५८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण देखिएको छ ।

योसंगै हालसम्म नेपाल कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा थप १ हजार ८ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ३५ हजार ६ पुगेको छ ।

यसैबीच कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यो अवधिमा ज्यान गुमाएकाहरु संगै हालसम्म देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ९ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ जना रहेका छन् ।