थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो,
असार ९, रौतहट । बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ । गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिए । यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा कोरोना भाइरसबाट २४ जनाको मृत्यु भएको छ । एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।
मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए ।
सोमबार उनको मृत्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।
यसैबीच अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । र अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा बसेको छ ।