बन्दूकको कारोबार गर्ने व्यक्ति पक्राउ

   २२ भाद्र २०७८, मंगलवार १०:५५  

२२ भदौँ, रौतहट । बन्दुकको कारोबार गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

भरुवा बन्दुक बनाएर बेच बिक्रि गरेको अभियोगमा जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय आशबहादुर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा हतियार बनाई बिक्रि गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले आइतबार साँझ नै लिम्बुलाई हिरासतमा लिएको थियो ।

निजको घर तलासी गर्दा एक थान लोड गरिराखेको भरुवा बन्दुक, काठको ४ थान बट, बन्दुक बनाउन प्रयोग हुने २ थान नाल, विष्फोटक पदार्थ १ किलो, ५ थान हरिणको सिङ, फलामको ३ थान काजोल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई पक्राउ परेका लिम्बुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।