नेपालमा थपिए १,७५६ संक्रमित, २,२७४ जना कोरोनामुक्त
१८ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ३ सय ५७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ४ हजार ५ सय ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९९ जनामा संक्रमण देखिएको छ ।
आज थपिएका संक्रमितहरुसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा थप २ हजार २ सय ७४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाए ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससहित हालसम्म नेपालमा कोभिड १९ का संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ८ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार हाल नेपालमा ३० हजार ६ सय ६२ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।






