भन्सार छलेर ल्याएको सामान बरामद

   १८ भाद्र २०७८, शुक्रबार १६:५५  

१८ भदौँ, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको सामान रौतहट प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याइएको अवैध सामान आज बिहानै प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी बंकुल र अस्थाई प्रहरी पोष्ट लौकाहाबाट खटिएको संयुक्त टोलीले शुक्रबार बिहान करिब ६ः१५ बजेतिर नै रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ भकुवा खोला स्थितबाट अवैध रुपमा लत्ता कपडा लोड गरी ल्याएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको गस्ती टोलीलाई देखेर सामान छाडेर तस्कर भागेपछि, बेवारिसे अवस्थामा उक्त सामान बरामद गरिएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार बरामद गरिएको सामानको मूल्य करिब १ लाख ३३ हजार ५ सय ९० रुपैयाँ बराबर रहेको छ ।

बरामद भएको उक्त सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।