ठगीको आरोपमा रौतहटबाट एक जना पक्राउ
१८ भदौँ, रौतहट । ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विदेशमा राम्रो काम लगाई दिन्छु भन्दैँ ठगी गरेको अभियोगमा जिल्लाको यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीमा राम्रो चिनजान भएकोले भगौडा प्रहरीको खाली ठाउँमा काम लगाईदिन्छु, नभए वैदेशिक काममा गएभने राम्रो काममा पठाई दिन्छु भन्दैँ गौर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय सुधिरकुमार झाले आफूलाई ठगी गरेको भन्दैँ कुर्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । झाले दिएको जाहेरीको आधारमा कुर्मीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
७ लाख ५५ हजार रुपैयाँ ठगी गरेर कुर्मी फरार भएको भन्दैँ झाले दिएको उजुरीपछि, प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले खोजतलास गर्दा सुकदेवचोकबाट कुर्मीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कुर्मीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






