महोत्तरीबाट नाईट्राभेटसहित दुई जना पक्राउ

   १० भाद्र २०७८, बिहीबार १०:५०  

१० भदौँ, रौतहट । महोत्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको गौशाला नगरपालिका ६ बस्ने १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका १३ बस्ने २३ वर्षीय सुवास बुढाथोकीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सवारी चेक जाँच गर्ने क्रममा औरही नगरपालिका ४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । बिष्टका अनुसार महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।