निर्दोष व्यक्तिलाई पक्राउ गरेको स्वीकारे रौतहट प्रहरी; दुई प्रहरी निलम्बित

   ७ भाद्र २०७८, सोमबार १७:०६  

७ भदौँ, रौतहट । निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्वीकारेको छ । प्रहरी कार्यालय रौतहटले स्वीकार गरेपनि यो घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको पुष्टि समेत गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवद्वारा यो काम गराएर मोजिबुल्लाहलाई फसाएको पुष्टि गरिएको छ ।

शाहले भने, सञ्जय शहनीले नै धिरज तथा जितेशलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’

३२ साउनमा पत्रकार मोहम्मद मोजिबुल्लाह चढने मोटरसाइकमा लागूऔषध राखिएपछि, शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर निजले लागूऔषध राखेको चेक गर्ने लगाएर पक्राउ गराएका थिए । तर, सीसीटीभी फुटेज अनुसार षड्यन्त्र गरी मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखी उनलाई फसाएको पुष्टि भएसंगै घटनामा संलग्न रहेका धिरज यादव र जितेर यादवलाई हिरासदमा लिएको थियो ।

शाहका अनुसार जिल्ला अदालत रौतहट गौरबाट ६ दिनको म्याद थप अनुमति लिई यस घटनाबारे आवश्य अनुसन्धा भइरहेको छ ।

यस्तै, “षड्यन्त्र गरी निर्दाेश व्यक्तिको मोटरसाइकलमा लागूऔषध नाइट्राभेटसहित राखेको र गैरव्यवसायिक काममा संलग्न भएका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको समेत सिद्धिविक्रम शाहले बताए ।”