सर्लाहीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ
५ भदौँ, रौतहट । आफ्नै दाईसंग झगडा गरिरहेका युवकलाई पेस्तोलसहित सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सदरमुकाम मलगंवा नगरपालिका ११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड गरेको अवस्थामा कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।
आज बिहानै समसुद्दिन र उनका ४५ वर्षीय दाई फुलगनी अन्सारीबीच भएको सामान्य झगडा चर्केको खबर प्राप्त हुनसाथै घटनास्थलमा प्रहरी टोली पुगेको सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार घटनास्थलमा पुगेको टोलीले समसुद्दिनलाई कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेको निजमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






