भन्सार छलेर ल्याएको चाँदीका गहनासहित पर्साबाट एक पक्राउ

   ३ भाद्र २०७८, बिहीबार ११:५५  

३ भदौ, रौतहट । अवैध रुपमा भन्सार छलेर ल्याएको ६ किलो चाँदीको गहनासहित पर्साबाट एक जना पक्राउ परेका छन् ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय नागेन्द्र साह (सोनार)लाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्ज १६ शंकराचार्य गेटबाट आज बिहान साहलाई ६ किलो १६८ ग्राम चाँदीका गहनासहित पक्राउ गरिएको खनालले जनाए । पैदल हिडिरहेका साहलाई संकास्पद अवस्थामा रोकी उनले बोकेको झोला चेक जाँच गर्दा उक्त चाँदीको गहना फेला परेका प्रहरीले जनाएको छ ।

अवैध चाँदीको गहनासहित पक्राउ परेका निजलाई हिरासतमा राखी यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।